इजरायल घटनामा सरकारलाई कांग्रेसको चार बुँदे ध्यानाकर्षण

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूका विषयमा शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली कांगेसको आज बसेको संसदीय दल बैठकले आक्रमणको भत्सर्ना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कांग्रेसले हमासको आक्रमणमा परी घाइते भएकाहरूको उपचार तथा शीघ्र उद्धारसहित सरकारलाई चार बुँदे ध्यानाकर्षण गराएको छ ।

‘आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउने । सम्पर्कमा नरहेका कंचनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्ने, इजरायलमा भएका नेपालीहरूको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्ने’ कांग्रेसको ध्यानाकर्षणमा भनिएको छ, ‘रोजगारी तथा अध्ययनका लागि इजरायल गएका नेपालीहरू इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरूलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउने ।’

बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । ‘यो बैठक हमासको आक्रमणमा परी घाइते भइ उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको नेपाल सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

यस्तो छ शोक प्रस्ताव
यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी हमास समूहको क्रुरतापूर्ण एवं आतंककारी आक्रमणमा परी अध्ययन र आर्जन (लर्न एण्ड अर्न) कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरूको दुःखद हत्या भएकोमा यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

यो बैठक उक्त आक्रमणमा परी जीवन गुमाउने बझाङका गणेशकुमार नेपाली, दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज विष्ट, सल्यानका प्रवेश भण्डारी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपाने, डोटीका पदम थापा र राजन फुलारा, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यो बैठक शोक सन्तप्त सबै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस