काठमाडौं । इजरायलको द्वन्द्वनग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीलाई उद्धार गरिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।
आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको थियो । सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो । विद्यार्थी टोलीमध्येका एक लुइस रिजालले फेसबुकमा लाइभ गर्दै अहिले आफूहरु सुरक्षित स्थानमा आएको र त्यहाँ द्वन्द्वको सम्भवाना नभएको जानकारी गराएका छन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालका अनुसार अहिले त्यहाँको सेनाले धमाधम सुरक्षित स्थान तेलअभिभतर्फ उद्धार भइरहेको छ ।
आफूहरू बसेको बंकरबाट स्कर्टिङ गरेर लैजानका लागि आर्मीको टोली आइपुगेको उनले जानकारी गराएका छन् । ‘फार्मका सबै साथिहरू आइसकेका छौं । हामी सबैले खाने कुरा पनि पायौं । यहाँ चारैतिर आर्मीहरू छन्,’ उनले भनेका छन् । उनका अनुसार केहीलाई अहिले आर्मीले उद्धार गरेर लगिसकेको छ भने केहीको आधा घन्टामै उद्धार हुने बबताइएको छ ।
टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए । तीमध्ये १० जनाको आक्रमणका क्रममा निधन भइसकेको सरकारले बताएको छ । गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बंकरभित्र रहेका विद्यार्थीसँग संवाद गरेका थिए ।
प्रतिकृया दिनुहॊस