काठमाडौं । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो ।
यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।
यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ ।
वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ । पानी जम्ने टिनका डब्बाहरु, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फुल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउँने काम गर्छ ।
डेंगु भएको कसरी थाहा पाउने ?
–एक्कासी उच्च ज्वरो आउनु,
–लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
–असाध्यै टाउको दुख्नु,
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
–ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
–शरीरमा बिमिरा आउनु ।
डेंगुबाट यसरी बच्नुहोस्
–डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।
–पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ ।
–पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
–कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
–फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ ।
–एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ ।
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
–लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
प्रतिकृया दिनुहॊस