एमाले बाग्मतीको अध्यक्षमा ढुङ्गेल कि दाहाल ? आज मतदान

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि मतदान हुँदैछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि आज निर्वाचन हुन लागेको हो ।

निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए । तर, अब ढुङ्गेल र दाहालबीच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार ढुङ्गेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । ढुंगेललाई नेता महेश बस्नेत र दाहाललाई पोलिटब्युरो सदस्य गोकुल बास्कोटा पक्षकाे साथ रहेकाे बताइन्छ । एमालेमा प्रदेश नै पिच्छे देखिएको फरकफरक गुट वाग्मतीको हकमा बास्कोटा र बस्नेत पक्ष भएर उभिएको नेताहरू बताउँछन् ।

ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन् । वाम गठबन्धनबाट २०७४ मा प्रदेश सभामा निर्वाचित उनी एमाले-माओवादीको गठबन्धन सरकारमा मन्त्री भएका थिए । प्रतिनिधि सभामा तीनपटक उम्मेदवार बने पनि ढुंगलले चुनाव जित्न सकेनन् ।  ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले हारे ।

दाहाल एमालेका केन्द्रीय सदस्य हुन् । उनी संसदीय राजनीतिका पनि अनुभवी नेता हुन् । उनी २०४८ सालयता दाहाल निरन्तर निर्वाचित जनप्रतिनिधि छन् । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा उनी उम्मेदवार बनेनन् ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो । तर, सहमतिको प्रयासका लागि हिजो मतदान गराएको थिएन । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री