काठमाडौँ । हामीले भिडियो गेममा प्रथम पुरुष (वा भनौँ आफ्नो आँखाले जे देखेको छ त्यही) र तृतीय पुरुष (वा भनौँ आफ्नो अगाडि जो छ त्यही) मा पात्रहरूलाई यता–उता गराएको खेल खेलेकै छौँ । यो शैली सन् ९० को दशकदेखि नै भिडियो गेममा प्रचलनमा त आइसकेको छ । तर यही असोज २६ गते प्रदर्शन हुन लागेको चलचित्र बासेन्जी नेपाली चलचित्र वृत्तमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतीकरण हेर्न पाइनेछ ।
अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको ‘बासेन्जी’ हरर जनरामा निर्माण गरिएको चलचित्र हो । चलचित्र ‘प्रवेश’ पात्रको आँखाबाट र उसैलाई केन्द्रीय पात्र बनाई देखाइएको छ ।
प्रवेश पात्र पश्चिम नेपालबाट काठमाडौं आएको छ, उसको बुवालाई कृषि विषयमा खोजपत्रकारिता गरेको निहुँमा बरखास्त गरिए पछि यसै सिलसिलमा उसले आकाश पात्रलाई भेट्छ जसले आफ्नो मनमा उठेका आँधीलाई शान्त पार्न काठमाडौं नजिकको गाउँमा जान सल्लाह दिन्छ ।
अनि सुरु हुन्छ डरलाग्दा, रौँ खडा गर्ने खालका घटनाको सिलसिला । यो नै ‘बासेन्जी’ चलचित्रको मुख्य विषय हो । र यही ‘प्रवेश’ पात्रको आँखाबाट प्रथम पुरुष र उसलाई हेर्नका लागि तृतीय पुरुष क्यामरा राखी चलचित्रको निर्माण गरिएको छ ।
यस अघि ‘म्याङ्गो पिक्कल’ (आँपको अचार) नेपाली कथानक चलचित्र निर्देशन गरेका इयक स्कट क्लेमेन्ट नेपाली परिवेश र नेपाली जीवनबाट प्रभावित भई नेपालमा नै चलचित्र निर्देशन गर्ने धोको बोकेका चलचित्रकर्मी हुन् । ‘आँपको अचार’ चलचित्र आफ्ना मित्रहरूसँगको सहकार्यमा निर्माण गरिएको चलचित्र पश्चात् गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले ‘बासेन्जी’ चलचित्रको लेखन कार्य गरेका हुन् ।
यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असीम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।
निर्देशक क्लेमेन्ट भन्छन्, ‘नेपाली चलचित्रमा यो यस्तो प्रयोग हो जुन हालसम्म गरिएकै छैन । हामीले प्रथम पुरुषको दृष्टिकोणका लागि टाउकोमा क्यामरा राख्ने विशेष उपकरण तयार पारेका थियौँ जसले पात्रको परिप्रेक्ष्यबाट उसको संसार देखाइन सकियोस् । त्यसै गरी तृतीय पुरुषको दृष्टिकोण देखाउनका लागि गिम्बल प्रयोग गरेका छौँ जसले पात्रलाई नजिकैबाट नियालेर वा उसको हाउ–भाउ नियालेर हेर्न सकियोस् । मलाई पूरा विश्वास छ – हामीले नेपाली दर्शकलाई केही नयाँ पस्किन पूर्ण सफल भएका छौँ ।’
‘बासेन्जी यही २०८० असोज २६ गतेका दिन नेपालभरि नै प्रदर्शन हुँदै छ ।
प्रतिकृया दिनुहॊस