युवाहरूलाई उद्यमशील बनाउन ३ सयभन्दा बढीको उपस्थितिमा उद्यमशीलता सम्मेलन

काठमाडौँ । युवाहरूलाई उद्यमशीलताका लागि अभिप्रेरित गर्ने उद्देश्यसहित आयोजना भएको उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय निर्माण नेपाल मञ्च र उद्यमशील युवा सिर्र्जनशील युवा अभियानको आयोजनामा कार्यक्रम गरिएको हो ।

सम्मेलनको पहिलो सेसनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, अर्थशास्त्री डा. अच्युत वाग्ले र नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले धारणा राखेका थिए । अर्थमन्त्री डा. महतले युवाहरू पछिल्लो समय देखासिकीमा विदेश जाने लहडमा लागेको र यसलाई रोक्नका लागि उद्यमशीलता विकासका लागि सरकारले उत्प्रेरणात्मक कार्यक्रम ल्याएको बताए । ‘नेपालमै पर्याप्त अवसर भएको छ,’ उनले भने, ‘यसलाई खोजी गर्ने जिज्ञासु युवाहरूलाई स्रोत साधनको अभाव छैन ।’

पूर्वअर्थमन्त्री युवराज खतिवडाले उद्यमशीलता व्यक्तिको विशेष क्षमताभित्र पर्ने बताए । उद्यमशीलताको वातवरण शिक्षाबाट सुरू हुने भन्दै उनले शिक्षा क्षेत्रमा कमजोरी देखिएको बताए । उच्च शिक्षा लिन नसक्ने जनशक्तिलाई केन्द्रित गरेर सिप विकास र वित्तीय स्रोत व्यवस्थापन केन्द्रित कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ ।

उद्यमशील युवा सिर्जनशील युवा अभियानका संयोजक भुपेन्द्रजंग शाहीले युवाहरूलाई आर्थिक क्रियाकलापमा जोड्नुपर्ने बताए । उनले बहुसंख्यक जनसंख्या युवा रहेकै सन्दर्भमा उनीहरूको उपयोग आर्थिक उन्नयनमा गर्नुपर्ने बताए । ‘आर्थिक विकासका लागि युवाहरूलाई उद्यमशीलतामा जोड्न आवश्यक छ’, उनले भने, ‘यसका लागि पुँजी, सिप, कानुनी सहायतामा राज्यको उपस्थिति आवश्यक पर्छ ।’

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले युवालाई केन्द्रित गरेर बैंकले नयाँ नयाँ कार्यक्रम सञ्चालन गरेको बताए । उनले १० प्रकारका युवा उद्यमशीलतासम्बन्धी कार्यक्रममा बैंकले कर्जा प्रदान गरेको जानकारी गराए । देशभरबाट ३ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको कन्क्लेभमा नीति निर्माता, उद्यमी व्यवसायी, युवा नेताहरूले विभिन्न विषयमा धारणा राखेका थिए ।

युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्नका लागि नीतिगत व्यवस्था, व्यवाहरिक समस्या र भविष्यका बारेमा जानकारी दिइएको थियो । तीनवटा भिन्न भिन्न सेसनमा वक्ताहरूले युवाहरूलाई प्रेरित गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस