काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रबाट सरकारमा गएकामध्ये एक जनालाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउन लागिएको बताइएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नैपर्ने हुन्छ । माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले कुन मन्त्री फिर्ता बोलाउने भन्ने नखुलेको बताए । ‘विषय टुंगिए पनि कुन मन्त्री फिर्ता बोलाउने भन्ने खुलाइएको छैन,’ उनले भने ।
जनमत पार्टीका सांसद अब्दुल खानले सरकारमा सहभागी हुने बताए । ‘हामीले यही मन्त्रालय चाहियो भनेका छैनौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले जुन मन्त्रालय खाली गराउन सक्नुहुन्छ त्यसैमा जाने कुरा छ ।’ यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।
प्रतिकृया दिनुहॊस