विद्युत् विस्तारमा गुणात्मक फड्कोः ९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

काठमाडाैँ । सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ ।

आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर रहेकामा आव २०७९/८० को अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ । आव २०६२/६३ मा १२ लाख ८० हजार विद्युत्का ग्राहक रहेकामा हाल त्यो बढेर ७५ लाख बराबर पुगेको छ ।

आव २०७९/८० को अन्त्यसम्ममा मुुलुकको कूल ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ । त्यसमा प्राधिकरणको हिस्सा ९५ दशमलव शून्य तीन प्रतिशत बराबर रहेको छ । यस्तै वैकल्पिक ऊर्जाका विभिन्न स्रोतमार्फत करिब तीन प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जा उपलब्ध भएको छ ।

सबै नेपाली नागरिकका घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पु-याउने सरकारको योजना क्रमशः सफलताको क्रममा पुगेको पाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत भएको विवरणअनुसार भरपर्दो स्रोतको प्रबन्ध भएको अवस्थामा दुई वर्षभित्र सबै नेपालीलाई स्वच्छ ऊर्जा उपलब्ध गराउने सरकारको योजना पूरा हुनेछ ।

सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई केन्द्रमा राखेर थप बजेट विनियोजन गरेको छ । यस्तै सो कामका लागि अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोगसमेत सहयोग उपलब्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कूल ४२ जिल्ला पूर्णरुपमा विद्युतीकरण भएको छ । यस्तै कूल चार सय ९३ स्थानीय तह पूर्ण विद्युतीकरण हुँदा दुई सय ३१ स्थानीय तह आंशिकरुपमा विद्युतीकरण भएको छ । त्यस्तै, २९ स्थानीय तह हालसम्म पनि विद्युत्को पहुँचभन्दा बाहिर छन् । मुगु र हुम्लाबाहेकका ७५ जिल्लामा केन्द्रीय प्रणाली विस्तार भएको छ । आगामी दुई वर्षभित्र मुलुकभर केन्द्रीय प्रणालीबाट विद्युतीकरणका गर्न रु ५० अर्ब बराबरको विद्युतीकरणको कार्य अगाडि बढाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता …

प्रतिकृया दिनुहॊस

This will auto close after