काठमाडाैँ । अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले १०औं वर्षमा प्रवेश गरेको छ । साे अवसरमा कम्पनीले १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ ।
हरेक दिन गोलाप्रथामार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने र विजेताको नाम बससेवाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले बताए ।
१०औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत खनालले आफूले यो बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरेपनि आमयात्रु र यातायात व्यवसायीले देखाएको विश्वास प्रति धन्यवाद दिँदै आगामी दिनमा आफ्नो सेवालाई थप प्रभावकारी बनाउने पनि प्रतिवद्धता व्यक्त गरे ।
टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवाले यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
हाल दैनिक ३ हजारभन्दा बढ़ि यात्रुले बससेवामार्फत टिकट काटेर यात्रा गर्दै आएका छन् । यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानी काठमाडौंको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्जसमेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।




