कांग्रेस केन्द्रीय समिति बैठकमा जवाफ दिँदै सभापति देउवा

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे  सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्ने भएको हो ।

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमवारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए । आज बैठक आज समापन हुँदैछ । समापन अघि केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णयलाई अन्तिम रूप दिन नेताहरू गृहकार्यमा व्यस्त छन् ।

केन्द्रीय समितिको बैठकले गर्ने निर्णयलाई अन्तिम टुंगो लगाउन आज बिहान ११ बजे पुनः पदाधिकारीको बैठक बस्दैछ । यसअघि मंगलबार पनि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेर निर्णयको मस्यौदा तयार पार्ने जिम्मा नेताहरूलाई दिएको थियो ।

ती नेताहरूले आजको पदाधिकारी बैठकमा मस्यौदा पेस गर्नेछन् । त्यसपछि सभापति र महामन्त्रीहरूले निर्णयको मस्यौदालाई अन्तिम रूप दिएर अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछन् । केन्द्रीय सदस्यहरूको सुझावको आधारमा आजको बैठकमा महामन्त्रीले संशोधित कार्ययोजना पनि पेस गर्नेछन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ । त्यसपछि विभिन्न निर्णय गर्दै आज केन्द्रीय समिति बैठक समापन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री