काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले स्थिर सरकार बिना नेपालमा विकास सम्भव नभएको बताएका छन् । प्रेस चौतारी नेपाल बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले देशमा गिरिजाप्रसाद कोईराला र केपी ओलीको सरकार मात्रै अहिलेसम्म लामो समय टिकेको स्मरण गर्दै स्थिर सरकार भएमा मात्रै विकास हुने बताएका हुन् ।
नेता बस्नेतले अहिलेको सरकारले भ्रष्टाचारविरुद्धको अभियानमा एमालेको साथ रहे पनि असली भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने र बिना प्रमाण कसैको नाम उल्लेख नगर्न आग्रह गरे । ‘भ्रष्टाचारीहरू सबैलाई कानूनी दायरामा ल्याउन आवश्यक छ, अहिलेको सरकारले खुट्टा नकमाओस् भन्ने हो,’ नेता बस्नेतले भने, ‘विमानस्थलबाट १५५ केजी सुन बाहिर आउनु भनेको विमानस्थलको अवस्थाको विषयमा छर्लङ्ग हुनु हो ।’
राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज समेत रहेका नेता बस्नेतले एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोडेर मिसन २०८४ अभियान चलाइरहेको जानकारी दिएका छन् । एमालेविरुद्धका भ्रमहरू चिर्न युवा संघका नेताहरू गाउँ–गाउँमा पुगिरहेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड अस्थिरताको नमूना रहेको जिकिर गर्दै नेता बस्नेतले जनतालाई भ्रम सिर्जना गर्नु बाहेक अहिलेको सरकारले त्यस्तो कुनै स्मरणयोग्य काम नगरेको जिकिर गरे ।




