रवि पराजुली
सौल/दक्षिण कोरिया । गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिँदै छ। निर्वाचनमा उम्मेदवारी दिँदै विभिन्न आकांक्षीहरुले आफूले जित्ने दाबी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफू रहेको दाबी गरेका छन्।
रामेछाप मा जन्मिएर कोरियालाई कर्मभूमि बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रूपमा आफूलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरूको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३-०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।
नेपाली समाजमा निकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका वरिष्ठ उपाध्यक्ष , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया ,नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघ संस्थाहरूका सल्लाहकार समेत रहेका छन्। कामदार दैनिकका सम्पादक समेत रहेका उनी सेवा प्रवाह, मकै हाउस अनलाइन लगायत आधा दर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा समेत कार्यरत छन्।
‘मोटिभेसन’ वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस्, दक्षिण कोरिया, फिलिपिन्स लगायत विभिन्न देशहरूमा ‘मोटिभेसनल’ वक्ताको रूपमा आफ्नो प्रस्तुति दिइसकेका छन्। कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय अध्ययन मा स्नातकोत्तर गरेका उनी हाल विद्यावारिधि अध्ययनरत छन् ।
विभिन्न सम्मेलनहरूमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रूपमा कोरियामा बसोबास गरिरहेका छन्।
आफू विद्यार्थी र श्रमिक दुवै भएकोले विद्यार्थी र श्रमिकहरूको हकहितको लागि आफ्नो मुख्य प्राथमिकता हुने बताउँदै आफ्नो कार्यकालमा नारामा हैन साँच्चिकै NRNA विद्यार्थी र श्रमिक मैत्री हुने बताए।
यस्ता छन् सन्तोष खड्काले सार्वजनिक गरेका आफ्ना नीति र चुनावी एजेन्डाहरुः
-खड्काले श्रमिकको साथी साथै श्रमिक नै हुने र आफूपनि श्रमिक भएकोले आफ्नो उम्मेदवारी रहेको जनाएका छन्। यस्तै उनका अन्य सार्वजनिक नीति तथा एजेन्डाहरूमा महिनाको ४ वटै आइतबार र रातो बिदामा पनि नेपाली राजदूतावासको सेवा दिनको लागि आफ्नो पहल रहने उल्लेख गरेका छन्।
-नेपाली राजदूतावास र एनआरएनए को संयुक्त आयोजनामा भइरहेको पासपोर्ट नवीकरण र अन्य विविध सेवासहितको घुम्ती सेवालाई निरन्तरता दिई अझ प्रभावकारी र सबैको पहुँचमा पुर्याउने, महँगो भाडा दरको स्थायी समाधानको लागि सम्बन्धित पक्षसँग छलफल गरी राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई कोरिया देखि नेपालसम्म सिधा उडानको लागि सम्बन्धित निकाय सँग पहल गर्ने उनका सार्वजनिक एजेन्डा रहेका छन्।
-कोरियामा नेपाली भाषा, संस्कृति एवं रीतिरिवाजको प्रवर्द्धनका निमित्त कोरियाली विद्यालयहरूमा नेपाली भाषा, संस्कृति एवं रीति रिवाज सम्बन्धी कक्षा सञ्चालनको लागि सम्बन्धित पक्षसँग पहल गराउने कुरालाई उनले आफ्ना एजेन्डाहरूमा समावेश गरेका छन्।
-यस्तै कोरियामा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीहरूका समस्या समाधान, भाषागत तथा कानुनी परामर्श सम्बन्धी समस्या समाधान समाधानका लागि विगतमा पनि प्रयास रहेको र यदि आफू महासचिव पदमा निर्वाचित भए आफूले गरेका यी सबै बाचा पूरा गर्ने प्रतिबद्धता खड्काले जनाएका छन्।
-आफ्ना चुनावी नीति एवं एजेन्डा सार्वजनिक गर्ने क्रममा खड्काले आफूले कुरा भन्दा काम गर्न जानेको हुँदा आफ्नो पक्षमा मत खस्ने विश्वास दिलाएका छन्।



