त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा व्यवसायी दीपक मल्होत्राकाे नाम जोडेर समाचारहरू आए । बिहीबार मल्होत्राले त्यसको खण्डन गरिसकेका छन् । उनले पत्रकार सम्मेलन नै गरेर आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको बताए ।
- यसै विषयमा रहेर व्यवसायी मल्होत्रासँग गरिएको कुराकानी :-
तपाईँले पत्रकार सम्मेलन गरेर सुन तस्करीमा संलग्नता छैन भन्नुभयो तर तपाईँको नाम बारम्बार आइरहेको छ नि ?
म सबैलाई प्रष्ट पार्नु चाहन्छु, सुन लगायत कुनैपनि अवैध कारोबारमा म संलग्न छैन । मेरा जतिपनि व्यवसाय छन् त्यसको माध्यमबाट मैले राज्यलाई कर तिरिरहेको छु र कसैले भनेको भरमा कतै लेखेको भरमा नै विश्वास नगरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु । जुन दिन दीपक मल्होत्रा अवैध कारोबार अथवा सुनमा संलग्नता भएको तपाईँहरूले पाउनुहुनेछ , त्यसकाे सजाय भोग्न तयार छु । मेरो सुन तस्करीमा संलग्नता छैन ।
तपाईँमाथि किन यसरी आरोप लाग्ने गरेको छ ?
म माथि आक्रमण गर्ने प्रयास गरिएको हो । समाचार आएको विषयमा सत्यता छैन । ३३ किलो सुन पक्राउ गर्दा पनि कान्तिपुरले मलाई जोडेर समाचार बनाइएको थियो । मल्होत्राको पार्टनर सुन काण्डमा समातिए भनेर जबरजस्ती नाम जोड्ने प्रयास भएको थियो । दीपक मल्होत्रा सबैले चिन्ने व्यक्ति भएकाले पनि मेरो नाम मिडियामा दुरुपयोग भएको हो ।
लोकमान सिंह कार्कीसँग पनि तपाईँको नाम जोडियो नि ?
लोकमान सिंह कार्कीसँग मेरो चिनजान छ । उहाँ अख्तियारमा हुँदा अख्तियार मार्फत मैले केही काम गरेको छैन । उहाँको घर त्यति बेला खाली थियो । कार्कीले मेरो घर भाडामा लिइदिनु भन्नुभएको थियो । मेरो गोदाम अन्य ठाउँमा थियो तर उहाँको घरमा गोदाम सारेको हो । मैले गोदाम सार्दा त्यो समयमा पनि समाचार आएको थियो । भूकम्प गएको समयमा पनि सकी नसकी त्रिपाल बाँडे । त्यो समयमा मेरो करोडौँ रुपैयाँ घाटा रहेको अवस्था छ । मैले सामाजिक कार्यमा आफूलाई अगाडि सार्दै आएको छु । कोरोनाका समयमा पनि लाखौँको मास्क निःशुल्क वितरण गरेको थिएँ ।
तपाईँ कुनै समय सुनको कारोबारमा संलग्न हुनुहुन्थ्यो, त्यसकारण शंका भएको हो की ?
मैले आज भन्दा २५-२६ वर्ष अगाडि वैधानिक तवरबाट सुनको कारोबार गर्थेँ । त्यसयता सुनको कारोबारका बारेमा भने मलाई थाहा छैन । आज यो व्यवसायबाट कति फाइदा/घाटा हुन्छ त्यो पनि थाहा छैन ।
तपाईँका विभिन्न नेताहरूसँगका फोटो भाइरल भइरहेका छन् नि ?
म चेम्बर अफ कमर्समा आबद्ध छु । कामका सिलसिलामा विभिन्न नेताहरूसँग भेट्नुपर्छ । त्यसबेला फोटो खिचिएको हुन्छ । आजभोलिको जमानामा फोटो खिचेकै भरमा कसैलाई आरोप लगाउन पाइन्छ ? फोटो जसको जोसँग पनि हुन सक्छ । खिच्न सकिन्छ । यसलाई इस्यु बनाउनु गलत हो ।




