काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ ।
दुई जनाबीच सिंहदरबास्थित मन्त्री मोदीको कार्यकक्षमा भेट भएको हो । भेटमा मन्त्रालय र काठमाडौँ महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको मन्त्री मोदीको सचिवालयले जनाएको छ ।
मेयर शाहले काठमाडौँ महानगरका जग्गाप्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापनको सन्दर्भमा आएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए । मन्त्री मोदीसँग मेयर शाहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गरे ।
जवाफमा मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताए । मन्त्री मोदीले फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गरे ।




