काठमाडौँ । सप्तकोशीबाट तीन जनाको सकुशल उद्धार गरिएको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो ।
नदीमा खसेको ट्रक बेपत्ता भएको छ भने ट्रकमा सवार तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।
ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् ।
उनलाई उपचारका लागि पठाइएको छ । अन्य २ जनाको अवस्था सामान्य रहेको डिएसपी राईले बताए । बसका सवार रहेकाहरू भने सकुशल छन् । नदीमा खसेको ट्रक देखिन छाडेको छ ।




