दुर्गा प्रसाईँलाई धम्क्याएर ३० करोड मागेका गुरुङ ५ करोड लिन जाँदा पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगन्जबाट रमेश गुरुङलाई पक्राउ गरेको हो ।

एसपी सञ्जयसिंह थापाकाअनुसार गुरुङले केही दिनअघि प्रसाईँलाई फोन गरी ३० करोड रुपैयाँ चन्दा माग गरेका थिए । तर बार्गेनिङ गर्दा पाँच करोडसम्मको ‘डिल’ भइसकेको थियो ।

रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईँको आरोप छ । यसरी पैसा माग गरेको भन्ने खबर पाएपछि केही दिनदेखि सिआइबीले उनको खोजी गरिरहेको थियो । त्यही क्रममा महाराजगन्जमा उनी फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार गुरुङको घर खोटाङ हो ।

प्रसाईँसँग ३० करोड मागेका गुरुङ पाँच करोड रुपैयाँ लिन भन्दै महाराजगन्ज पुगेका थिए । त्यति नै बेला सीआईबीले उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता सञ्जय थापाले जानकारी दिए । प्रसाईँले ३० करोड चन्दा मागेका गुरुङलाई पाँच करोड दिने भन्दै बोलाएका थिए ।

तर उनले त्यसअघि नै प्रहरीलाई जानकारी दिइसकेका थिए । गुरुङलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री