दुर्घटनाग्रस्त हेलिकप्टरको अध्ययनका लागि छानबिन समिति बनाइने

काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।

मङ्गलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताएका हुन् । मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको बताइएको छ ।

मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए । उनले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।

उनले भने ‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ, हाम्रो पहिलो सर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलीसम्ममा गठन हुन्छ ।’

सञ्चारकर्मीहरूको प्रश्नमा फरक प्रसङ्गमा मन्त्री किराँतीले वर्तमान गठबन्धन सरकार आलोपालो गरेर सम्झौताअनुसार ५ वर्ष नै टिक्ने दाबी गर्नुभयो । उहाँले सरकार छोडेर भाग्ने सुविधा कसैलाई नरहेको जिकिर गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री