काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत देश छाडेर भाग्ने तयारीमा रहेको खुलेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्दै गर्दा पक्राउ गरेको हो ।
सचिव राउतले मन्त्रालयमा भने छोरो बिरामी भनेर बिदा स्वीकृत गराएका थिए । मन्त्री रेखा शर्मालाई पनि सोही जानकारी गराएका थिए। राउत बालुवाटार जग्गा प्रकरणमा जोडिएका कारण पनि उनी प्रहरीको निगरानीमा थिए ।
यसअघि पक्राउ परेकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेका कारण प्रहरी त्यो मुद्दा टुंगिएपछि मात्रै आक्रामक रूपमा अघि बढ्ने योजनामा छ । तर राउतले प्रहरीले निगरानी बढाएको चाल पाए । उनी विराटनगर जानका लागि आइतबार विमानस्थल पुगेका थिए । उनलाई विमानस्थलभित्रबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी विराटनगरबाट भारत भाग्न लागेको प्रहरीको आशंका छ । सोही आशंकाका कारण प्रहरीले उनलाई तत्काल पक्राउ गरेको हो । राउत भौतिक पूर्वाधार मन्त्रालयको शाखा अधिकृत हुँदा २०६६/०६७ सालमा ललिता निवास जग्गा प्रकरणमा टिप्पणी उठाउने कार्यमा संलग्न रहेको आरोप छ ।
यससँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ । यसअघि आइतबार नै दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।




