काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार पनि राष्ट्रिय सभा बैठकमा अवरोध जारी राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै लगातार ३ दिनदेखि एमालेले संघीय सदनका दुवै सभाको बैठक अवरोध गर्दै आएको छ ।
एमालेका सांसदहरुले अवरोध गरेका कारण राष्ट्रिय सभाको बैठक शुक्रबार पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । राष्ट्रिय सभामा सरकारले ल्याएको विनियोजित विधेयकमाथि छलफल गर्ने कार्यक्रम थियो ।
विनियोजन विधेयकमाथि छलफलेको पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गरी असार २४ गते छलफल गर्ने र २५ र २६ गते मन्त्रीले जवाफ दिने कार्यतालिका निर्धारण गरिएको छ । २४ असारमा बैठक बस्ने गरी शुक्रबारको बैठक स्थगित गरिएको छ ।
बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनुपरेको बताइन् ।




