काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी सरकार गठनका लागि सभामुखको समेत हस्ताक्षर हुनु सिद्धान्त विपरीत भएको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता कोइरालाले उनले सभामुखको भूमिका संवैधानिक रहने भएकोले संसद्को कार्य सञ्चालन गर्नु, अध्यक्षता गर्नु र संसद्मा पेश भएका विषयमा मतदान हुँदा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका, गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुने जनाएका छन् ।
उनले लेखेका छन्,
सन्दर्भ कोशी प्रदेश सरकार गठन:
प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था छ ।
प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य सङ्ख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन । तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रूपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुन जान्छ । सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसद्को कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसद्मा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ ।




