सञ्चारकर्म र कार्यक्रम व्यवस्थापनलाई सँगसँगै अगाडि बढाइरहेको छु : राज लुइँटेल (अन्तर्वार्ता)

  • सञ्चारकर्मी तथा कार्यक्रम व्यवस्थापक राज लुइँटेलसँग गरिएको कुराकानी :- 

तपाईँ सञ्चारकर्मी की कार्यक्रम व्यवस्थापक ?
म सञ्चारकर्मी हुँ । लामो समयदेखि मिडियाकै क्षेत्रमा कार्यरत छु । पछिल्लो समयमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने कार्यक्रम व्यवस्थापनसँग पनि सम्बन्धित छु । पत्रकारिताको क्षेत्रबाटै आफ्नो पहिचान बनाएकाले लामो समयदेखि पत्रिका, अनलाइन मिडियाको सञ्चालन पनि गरिरहेको छु । राष्ट्रखबर डटकम, तथ्य खबर डटकम, ग्यालेक्सी दैनिक सञ्चालन गरिरहेको छु । कार्यक्रम व्यवस्थापनसँग जोडिएको ५ वर्ष भयो । जसमा कार्यक्रम व्यवस्थापन संघ नेपाल नामको संस्था छ, यो नेपालभरिका इभेण्ट अर्गनाईजेसनको छाता संगठन हो । म त्यसमा आबद्ध छु ।

यसले नेपालमा फेसन सो, ब्यूटी प्रेजेन्ट, मेला लगायत विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गर्ने गर्छ । त्यसमा संस्थापकको हिसाबले म कोषाध्यक्ष हो भने दोस्रो कार्यकाल उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेको छु । योसँगै कलाकारितामा पनि म्युजिक भिडियो निर्देशनको काममा संलग्न छु । त्यसैले सञ्चार कर्म र कार्यक्रम व्यवस्थापनलाई सँगसँगै अगाडि बढाइरहेको छु ।

पछिल्लो समयमा के मा व्यस्त हुनुहुन्छ ?  
हामीले ‘बाग्मती गट ट्यालेन्ट’ रियालिटी सो कार्यक्रम ल्याएका छौँ । एएनपी मिडिया हाउसले आयोजना गर्ने कार्यक्रमको म कार्यक्रम निर्देशक छु । यो कार्यक्रम बाग्मती प्रदेशभित्रका १३ वर्षसम्मका बालबालिकाहरूको नृत्य र गायनसम्बन्धी प्रतियोगिता हो । रियालिटी सोमा भाग लिनका लागि अडिसनको फर्महरू संकलन गर्ने क्रम चलिरहेको छ । यसको उद्देश्य स्कुलमा अध्ययनरत बालबालिकाहरूले आफ्नो क्षमता देखाउने हो । उनीहरूको क्षमतालाई उजागर गर्न हामीले तालिमहरू पनि दिने गरेका छौँ । अहिलेसम्म २ हजार भन्दा बढी बालबालिकाको अडिसन लिइसकेका छौँ । अझैँ विभिन्न जिल्लामा अडिसनको क्रम चलिनै रहेको छ । नेपालमा प्रतिभा प्रस्फुटन गराउने भन्दै थुप्रै कार्यक्रम आयोजना हुँदै आएका छन् ।

यस्ता रियालिटी सोको उद्देश्य के हो ? 
बालबालिकाभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने नै प्रमुख उद्देश्य हो । घरमा, स्कुलमा सीमित दायरामा रहेका नानीबाबुहरूको प्रतिभाको दायरा बढाउनका लागि राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । उनीहरूभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटनका लागि एउटा मञ्च प्रदान गर्छौँ । यसबाट उनीहरूलाई प्रेरणा पनि मिल्छ । हिम्मत पनि आउँछ । कार्यक्रमको आयोजना गरेर हामी बालबालिकाको क्षमता उजागर गर्ने पुलको रूपमा काम गर्दै आएका छौँ । यस्ता प्रकारका कार्यक्रमबाट व्यक्तिका अन्तर्निहित क्षमताको प्रस्फुटन हुन्छ ।

तपाईँलाई सबैभन्दा बढी के विषयमा रुचि लाग्छ ?
मलाई सबैभन्दा रमाइलो कार्यक्रमहरूको आयोजना गर्न लाग्छ । नयाँ नयाँ व्यक्तिहरूसँग जोडिने मौका मिल्छ । क्षमता र योग्यता हेर्ने अवसर मिल्छ । हाम्रो संस्थामा जोडिएकाहरू हाम्रो संस्थाको नामबाटै चर्चित भएको देख्दा आनन्द लाग्छ । हामीले मञ्च प्रदान गरेका बालबालिकाहरू प्रतिष्ठा कमाएको देख्दा अतिनै आनन्द लाग्छ ।

कार्यक्रम व्यवस्थापन संघले हाल कस्ता खाले कार्यक्रम आयोजना गर्दै आएको छ ? 
संघले विभिन्न कार्यक्रमहरूको व्यवस्थापन गर्दै आएको छ । नेपालमा जतिपनि मेला वा महोत्सव हुँदै आएका छन्, त्यसको व्यवस्थापन गर्दै आएको छ । कार्यक्रम आयोजना गर्ने संघ÷संस्थाको हितका लागि काम गर्दै आएका छौँ । सबै इभेण्ट आयोजना गर्नेहरूले शत प्रतिशत राम्रो काम गर्छन् नै भन्ने पनि छैन । यदि कमी कमजोरी भयो भने त्यसलाई सुधार्न पहल पनि संघले गर्दै आइरहेको छ । कुनै व्यक्ति वा संस्थाले गलत काम गर्‍यो भने त्यसलाई सचेत गराउने काम यसको क्षेत्रभित्र पर्छ । हालसम्म ३ दर्जन भन्दा बढी ठुला र १०० भन्दा बढी सामान्य ईभेण्ट व्यवस्थापन र आयोजना गरिसकेको छ ।

तपाईँले केही समय अघि इन्डियाको प्रतिष्ठित ‘दादा साहेब फाल्के’ पुरस्कार पाउनुभयो पुरस्कार पाउँदा कस्तो अनुभव भयो ?  
गिनिज बुक वर्ल्ड रेकर्ड, महात्मा गान्धी अन्तर्राष्ट्रिय अवार्ड र अन्य ठुला संस्थाहरूबाट सम्मान पाएको कारण पनि इन्डियाको प्रतिष्ठित अवार्डका लागि योग्य भएको हुँला सायद । इभेण्ट व्यवस्थापक तथा सञ्चारकर्मका लागि थाइल्याण्ड, दुबई, ईजिप्ट, अजरवैजान, कतार, भारत तथा श्रीलंकाबाट समेत सम्मानित भैसकेको छु । मलाई खुसीसँगै जिम्मेवारी बोध पनि भएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ? 
आफ्नै क्षेत्रका बारेमा केही भन्न मन लागेको छ । पत्रकारिता पेशा यथार्थमा आधारित हुन्छ तर यथार्थ नबुझेरै पत्रकारिता गर्ने प्रवृत्ति बढ्दैछ । यसप्रति मलाई आपत्ति छ । यो अति नै संवेदनशील क्षेत्र भएकाले कुनैपनि विषय बाहिर ल्याउनुभन्दा पहिले अतिनै सजग हुन म सम्पूर्ण सञ्चारकर्मीलाई अनुरोध गर्दछु । –नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस