काठमाडौँ । कोरियाबाट ल्याएको २ मोबाइलको ४४ हजार भन्सार लिइएको खुलेको छ । असार १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्याङ्जाका छविलाल भण्डारी (डमु दाइ)ले आफ्नो प्रयोग भएको दुई मोबाइलको कर ४४ हजार १६९ तिरेका हुन् ।
उनले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार विमानस्थल भन्सारले आइफोन १३ र आइफोन १२ (प्रयोग भएको)मोबाइलको करबापत सो रकम लिएको छ । आफ्नो लगेजको २५ प्रतिशत सामान विमानस्थलबाट हराएको पनि उनले बताए । हराएको सामानको रिपोर्ट गर्दा पनि विमानस्थल कार्यालयले ध्यान नदिएको भण्डारीको गुनासो छ ।
६ वर्षमा कोरिया बस्दा हरेक पटक रेमिट्यान्सबाट नेपालमा पैसा पठाएबापत सरकारले आफूलाई यो सजाय दिइएको गुनासो उनको छ ।
यो विषय सामाजिक सञ्जालमा फैलिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समस्या सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । ‘यो घटनाले दुःखित भएँ । परदेशमा दुःख गरेर घर फर्कँदा देखिने यस्ता कुसंस्कार अझै कति भोग्नुपर्ने ? सम्बन्धित निकायहरूमा यो विषय जानकारी गराएको छु,’ मन्त्री किराँतीले भनेका छन्, ‘दमुजीलाई न्याय हुने र यस्ता घटना न्यूनीकरणका लागि आवश्यक कदम निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउन लागिपर्नेछु । सबै सरोकारवालाप्रति आभार ।’
यो घटनाले दुखित भए। परदेशमा दुख गरेर घर फर्कदा देखिने यस्ता कुसंस्कार अझै कति भोग्नु पर्ने? सम्बन्धित निकायहरूमा यो विषय जानकारी गराएको छु। दामुजीलाइ न्याय हुने र यस्ता घटना न्युनिकरणका लागि आवश्यक कदम निर्ममतापुर्वक कार्यान्वयनमा ल्याउन लागिपर्नेछु। सबै सरोकारवालाप्रति आभार 🙏 pic.twitter.com/DAkt159mTC
— सुदन किराँती (@sudankiranti) July 2, 2023





