काठमाडौँ । पशुपतिनाथ मन्दिरको गर्भगृह अर्थात् ज्योतिर्लिंगमा पुनः जलहरी राखिँदैछ । पशुपति क्षेत्र विकास कोषको कार्यालयका अनुसार गत आइतबार अनुसन्धानको लागि निकालिएको सुनको जलहरी आज पुनः गर्भगृहमा राखिने भएको हो ।
जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको छ । यद्यपि मन्दिर परिसर भित्रको उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले धर्मावलम्बीहरूलाई जान दिएका छैनन् । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सुनको जलहरी निकालिए पनि नियमित पूजा आराधना सुरु भएको बताए । ‘गर्भगृहबाट जलहरी निकाल्ने र नापजाँच गर्ने बेलामा पूजा रोकिएको थियो । सोमबार बिहानदेखि नियमित पूजा सुचारु छ,’ उनले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ । पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४।७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो । जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो । जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन ।
प्रतिकृया दिनुहॊस