काठमाडौँ । आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन् ।
७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ ।
स्थानीय तहको आगामी आव २०८०/८१ का लागि शनिबारसम्म १२ स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ४१ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालु आव २०७९/८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् ।




