काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो वेबसाइट ‘एनआईसीएशिया डटकम’लाई आकर्षक फिचरहरूसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउनका लागि वेबसाइट नयाँक डिजाइनमा स्तरोन्नति गरिएको बैंकले जनाएको छ ।
बैंकले आफ्ना सेवा तथा सुविधाहरू थप ग्राहकमैत्री बनाउँदै लैजाने उद्देश्यअनुरुप वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइनमा सार्वजनिक गरेको हो । ग्राहकहरूले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज (voice command) द्वारासमेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ ।
साथै, ग्राहकहरूले खोजेअनुसारका प्रोडक्ट र विवरणहरू उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहक महानुभावहरूले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्ने बैंकले जनाएको छ ।
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबजस्ता डिभाइसहरूमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरूको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको बैंकको भनाइ छ ।
बैंकका अनुसार वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरू गर्न मिल्ने सुविधाका साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटीएमहरूको स्थान पत्ता लगाउन सकिनेलगायत बैंकसम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवासमेत उपलब्ध गराइएको छ ।
यस बैंकको मोबाइल बैंकिङ एपमा रहेको ओम्नी च्यानल प्रणालीमा उपलब्ध सेवाहरू जस्तै; नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्श सुचारु, स्किम ट्रान्सफर, लकर सुविधा आवेदनलगायत दर्जनौँ सेवाहरू वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ ।
बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकहरूलाई बैंकका बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ ।
एनआईसी एशिया बैंकले हाल मुलुकभर रहेका ३६० शाखा कार्यालय, ४७३ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जालमर्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।




