ज्योति विकास बैंकद्वारा कार्डरहित रकम निकाल्ने सेवाको सुरुवात

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ। यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन्।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ। बैंकको मोबाइल बैकिङ एप ‘ज्योति स्मार्ट’ तथा वेब ब्राउजर ज्योतिस्मार्ट डटजैबीबीएल डककम डटएनपी मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ। बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन्।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योतिस्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको ‘पेमेन्ट’ आइकनमा थिचे पछि देखिने ‘कार्डलेस विथड्रल’ आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ। तत् पश्चात, ज्योति विकास बैंककै एटिएममा गई ‘कार्डलेस ट्रान्सेक्सन’ चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त ‘ओटीपी कोड’ राखी इच्छाइएको रकम झिक्न सकिनेछ।

डिजिटल बैंकिङ्गको प्रयोग बढेसँगै बैंकले सोही प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप