काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले जमिनमुनिबाट निकालेको पानीको शुल्क निर्धारण गरिनुपर्ने माग राखेका छन् ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भूमिगत पानी जसले जति निकाल्छ सोही अनुसार शुल्क निर्धारण गरिनुपर्ने माग राखेका हुन् ।
अहिले उपत्यकाबाट हरेकदिन जमिनमुनिबाट १३ करोड लिटर भन्दा बढी पानी तानिने गरेको उनको भनाई छ । ‘सन् १९९० मा जापानी संस्था जाइकाले ४ वर्ष लगाएर काठमाडौँ उपत्यकामा भूमिगत पानीको अध्ययन गरेको थियो,’ सांसद अर्यालले भने, ‘अध्ययनबाट १० मिटर पानी घटेको पाइएपछि जाइकाले हरेक दिन १।५ करोड भन्दा बढी भूमिगत पानी नतान्न सिफारिस गरेको थियो । अहिले झण्डै ९ गुणा अर्थात् हरेक दिन १३ करोड लिटर भन्दा बढी पानी तान्ने गरिएको छ ।’
भूमिगत पानीको पूर्नभरण गर्न पनि यस्तो गरिनुपर्ने उनले बताए । ‘यसबाट सरोकारवाला निकायले जवाफ दिनुपर्छ कि पर्दैन ? कि जतिपनि तान्न मिल्ने हो ? अझ अचम्म त के छ भने जसले जति पानी ताने पनि शुल्क भने वार्षिक २० हजार रूपैयाँ मात्रै तोकिएको छ । यो कसरी वैज्ञानिक भयो ? त्यसैले भूमिगत पानीको पूर्नभरण गर्न र जसले जति पानी निकाल्छ सोही अनुसार शुल्क तोक्न सरकारको ध्यानाकर्षण गराउँछु,’ सरकारलाई प्रश्न गर्दै सांसद अर्यालले भने ।




