काठमाडाैँ । इन्स्च्यिुड अफ एड्भान्स कम्युनिकेशन, एजुकेशन एण्ड रिसर्च (आइएसिइआर)ले बैंकिङ विषयको पढाइमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ । आइएसिइआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘इन्डष्ट्री–एकेडेमीक डाइलग सेरिज’ आयोजना गरी सरोकारवालाहरूसँग अन्तर्क्रिया गरेको हो ।
कार्यक्रममा बैंकिङ विषयको अध्यापनमा बोलीचाली, लेखनसीप, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतलाई समेटेर पाठ्यक्रम तयाार गर्नेबारे छलफल भएको थियो । कार्यक्रममा अमेरिकास्थित वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटनफेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी विषयको महत्वबारे प्रस्तुती दिएकी थिइन् ।
उनले समाज र संस्कृतिलाई बुझेर स्थानीय स्तरमा बैंकिङ सेवा विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताइन् । ‘भाषा व्याकरण र शब्दभण्डार मात्र होइन। भाषा सगसँगै समाज र संस्कृति जोडिएर आँउछ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय सम्पर्क माध्यमको रूपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानूकुल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ ।’
कार्यक्रममा प्राध्यापकह डा. शितल ग्रीन दाहालले बैंकिङ कारोबार र भाषाको महत्व, उज्जवल प्रसाईले बैंकिङ प्रणाली तथा समाज र लिलाराज बिमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुती दिएका थिए । त्यस्तै आइएसिइआरका प्रमुख कृष्णप्रसाद निरौला, एडिबी नेपालका प्रतिनिधि देवेन्द्र पोखरेल लगायतको सहभागीता थियो ।




