खाजा खाएको पैसा तिर्नेबेला भनाभन हुँदा होटल सञ्चालकले गरे ग्राहकको हत्या

काठमाडौँ । धादिङको गल्छीमा एक युवाको हत्या भएको छ । गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको हो ।

बुधबार बेलुका खाजा खान गएका गल्छी-८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् । खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन हुँदा दुवै पक्षबीच झगडा भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए ।

झगडामा छुरा प्रहार हुँदा थापामगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएको हो । आरोपित पण्डित र उनकी आमा सरस्वतीसहित ६ जनालाई पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप