इमानदार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि उनले इमानदार र पारदर्शी भएर काम गर्न निर्देशन दिएका हुन् ।

भन्सार चुहावट गर्ने प्रवृत्तिलाई क्षमा दिन नसकिने अर्थमन्त्री डा. महतको भनाई छ । ‘तपाईँहरू राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।’

मन्त्री डा महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गरे । ‘कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पारदर्शी रूपमा पूरा गर्नुहुनेछ, उनले भने । आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको मन्त्री डा. महतको भनाई छ ।

राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए । मन्त्री डा महतले भने, ‘समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ, नियम कानुन अनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री