काठमाडौँ । तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका स्वर्णिम वाग्लेले मतदातालाई धन्यवाद दिएका छन् । विजयी भएको प्रमाणपत्र बुझेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले मतदाताहरूको भरोसालाई डगमग हुन नदिने बताएका हुन् ।
मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति आफू अति नै सजग रहने उनको भनाई छ । ‘यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।,’ वाग्लेले भनेका छन्, ‘यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं। १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आशयका साथ मैले बुझेको छु ।’
उनले अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जित(हारको प्रक्रियालाई स्वाभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गरेका छन् । ‘चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिबद्ध गरी यहाँका स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रियामार्फत् योजनाहरू अघि बढाउने छु,’ वाग्लेले भने ।




