काठमाडौँ । तनहुँ-१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले बधाई दिएका छन् । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
उनले आफूले मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन नसकेको बताए । ‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई । चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो,’ उनले भनेका छन्, ‘र, संयोगले तपाईँ निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो ।’
भट्टराईले पदको सपना नदेखेपनि आफूले तनहुँ १ को विकासमा निरन्तर खटेको पनि बताए । ‘तपाईँ यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईँको अभिभारा बन्न पुगेको छ । मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहनेछु । अनि तपाईँले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ,’ उनले अगाडि भनेका छन् ।




