काठमाडौँ । तीन दलका शीर्ष नेताबीच बालकोटमा छलफल हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुन लागेको हो ।
छलफलका लागि सभामुख देवराज घिमिरेसहित प्रचण्ड र देउवा ओली निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास बालकोट पुगेर भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । त्यससँगै संसद्मा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल हुने भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुनेछ । यसअघि चैत २५ र २८ गते पनि शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल विशेषतः सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने विषयमा केन्द्रित थियो । संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ ।
प्रतिकृया दिनुहॊस