काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ । बिहानका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको हो ।
बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्व महान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका थिए । प्रधानमन्त्रीले बैठक नबस्ने जानकारी ९ः१५ तिर मात्रै गराएको बर्तौलाले जानकारी दिए । संसदमा विचाराधीन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अगाडि बढ्नुपर्नेमा सत्तापक्ष नै गम्भीर नभएको बर्तौलाको आरोप छ ।
गएको शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको थियो । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रचण्ड र देउवाले दुई दिनपछि बस्ने गरी स्थगित गर्न आग्रह गरेका थिए ।




