समर्थकले होहल्ला गरेपछि रोकियो उद्योग वाणिज्य महासंघको मतदान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । व्यवसायीहरूका समर्थकले हुटिङ र होहल्ला गरेसँगै मतदान रोकिएको हो ।

जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध बताइएको छ । अहिले होहल्ला गर्नेहरूलाई हटाइएको छ भने मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ ।

साधारणसभाको मंगलबार उद्घाटन भएको थियो । साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विद्यानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन् । यसरी निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला/नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक/एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री