तनहुँ-१ बारे गोविन्दराज जोशी समूहको घोषणा कांग्रेसले झुक्यायो, योग्य उम्मेदवार खोजेर मतदान गर्नू

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व नेता तथा समानान्तर समूह चलाएका गोविन्दराज जोशीले कांग्रेससँग मिल्ने सम्भावना टरेको बताएका छन् । बुधबार एक विज्ञप्ति निकालेर उनले भने, ‘कांग्रेसका प्रतिनिधिसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा गर्दर्छौं ।

कांग्रेसले कारबाही फुकुवा गर्ने बुँदाहरूमा आफ्नो समूहलाई जालझेलपूर्ण व्यवहार गरेको आरोप जोशीको छ । आफूलाई गरिएको कारबाही फुकुवाको निर्णय पनि झुटो भएको उनले बताए । ‘गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो आदी कुरा भनी नेपाली कांग्रेसद्वारा गरिएको प्रचार विल्कुल झुटो हो । उक्त वक्तव्यले नेपाली कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ, उनले भने ।

आगामी निर्वाचनमा भने कसैलाई पनि सहयोग वा असहयोगको निर्णय जोशी समूहले गरेको छैन । ‘यो निर्वाचनमा हामीले आफ्नो उम्मेदवार खडा गरेका छैनौँ । कुनै दल विशेषको सदस्य नभएकोले हामी सबै मतदानका लागि स्वतन्त्र छौँ,’ जोशी भन्छन्, ‘मतदान गर्दा २१ औँ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछु ।’

उनले कांग्रेससँग अहिले कुनै टिप्पणी नरहेको भन्दै कांग्रेसलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न सबैको सहयोगको खाँचो रहेको बताए । पार्टीबाट अलग्गिएकाहरूलाई समेटेर बलियो पार्टी बनाउन आफूहरू सधैँ खुला रहेको उनको भनाइ छ । जोशी समूहले सभापति शेरबहादुर देउवासँग केही दिनअघि अन्तिम वार्ता गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री