भन्सार अधिकारीहरुलाई अर्थमन्त्री महतको निर्देशन- नतिजा दिनेगरी काम गर्नु

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए ।

“आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरुलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।”

आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उनले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गरे ।

“जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौँ”, उनले भने । धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उनले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको बताए । उनले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गरे ।

“धेरै भन्सार नाकाबाट राजस्व सङ्कलन घटेको छ । ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ । भैरहवा, वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ । यसलाई गम्भीर ढङ्गबाट लिनुहोला”, मन्त्री महतले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री