काठमाडौँ । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ-१ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको छ । जहाँ सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
यो क्षेत्रका लागि उनीहरू तीनै जना नयाँ अनुहार हुन् । यो क्षेत्र कांग्रेसको बलियो पकड क्षेत्र हो । यो क्षेत्र २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ मा कांग्रेसले बाजी मारेको थियो । अन्तर्घातका कारण २०७४ को निर्वाचनमा पराजित भएको थियो । कांग्रेसले पूर्वमन्त्री तथा नेता गोविन्दराज जोशीलाई व्यवस्थापन गर्न नसकेको आन्तरिक कमजोरीले मात्र २०७४ मा पराजय भोगेको हो ।
कांग्रेसले भर्खरै कारबाहीमा फुकुवा गरेको नेता गोविन्दराज जोशी यहाँको प्रभावशाली नेताको रुपमा चिनिन्छन् । उनको प्रभाव अहिले पनि कायमै रहेको ठानिन्छ । उनी भट्टराईलाई साथ दिन सकारात्मक छन् र नेताहरुसँग छलफल गरिहरेका छन् । नेविसंघका पूर्वसभापति समेत रहेका उम्मेदवार भट्टराई झण्डै चार दशक कांग्रेस राजनीतिमा सक्रिय छन् । गोविन्दराज जोशी र गठबन्धनको साथ पाएको उनलाई चुनाव जित्न सजिलो रहेको देखिएपनि मुख्य चुनौती नयाँ दल रास्वपा हुने आकलन गरिएको छ ।
कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भट्टराईलाई चुनौती दिएका हुन् । लामो समय अमेरिका बसोबास गरेका वाग्ले २०७४ र २०७९ को तीन वटै निर्वाचनमा निर्वाचन घोषणापत्रका मस्यौदाकार थिए । अर्थतन्त्रसम्बन्धी राम्रो ज्ञान हासिल गरेका उनी विश्वकै प्रसिद्ध अर्थशास्त्री हुन् । वाग्लेको उपस्थिति कांग्रेसका उम्मेदवार भट्टराई भारी पर्ने देखिन्छ ।
भट्टराई र वाग्ले दुवै जना परीक्षण नभएका तथा सम्भावना बोकेका नेता हुन् । तर कांग्रेसभित्र वाग्लेको विद्रोह तथा रास्वपाप्रति जनताको बढ्दो आकर्षणका कारण कांग्रेसको विरासत जोगाउन भट्टराईलाई चुनौती रहेको बताइन्छ ।
अर्का उम्मेदवार खनाल प्रहरी संगठन चलाएका अनुभवी व्यक्ति हुन् । एमालेबाट उम्मेदवार बनेका खनाल यसअघिको निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनेका थिए । उनी रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । गत निर्वाचनमा पराजित भए पनि उनी यस पटक चुनाव जितेर संसद्को यात्रा तय गर्न चाहन्छन् । यो भने त्यहाँका मतदाताले निर्धारण गर्नेछन् ।
कसको मत कति ?
यहाँ गत मंसिरमा सम्पन्न चुनावमा दलहरूले पाएको मतलाई विश्लेषण गरिएको छ । यद्यपि अहिले यही नै आँकडामा दल र उम्मेदवारले मत पाउँछन् भन्ने आधार भने छैन ।
मंसिरमा भएको निर्वाचनमा यहाँबाट कांग्रेसका उम्मेदवार पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए ।
समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ । यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको छ ।
मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । रास्वापाको १२ हजार ७७३ र विपक्षी एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।




