काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा उनले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै अवसरवादीबाट जोगिन आग्रह गरेका हुन् ।
उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु साधवन हुनुपर्ने बताए । ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला,’ उनले भने, ‘अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो ।’
कोइरालाले कांग्रेस पार्टीभित्र आफूले धेरै कुरा गर्न चाहे पनि अवसरवादीहरु हावी हुँदा केही गर्न नसकेको बताए । सबै स्वार्थ छाडेर ‘राष्ट्र पहिला’ भनेर अगाडि बढ्नुपर्ने समय आएको कोइरालाको भनाई छ ।




