काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोशी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। कोशी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे। उद्घाटन गर्दै मेयर दिल प्रसाद राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यहाँका बासिन्दाहरुलाई सहज हुने बताए।
कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शालिग्राम बस्नेत उपस्थित थिए। कार्यक्रममा बोल्दै वडा अध्यक्ष शालिग्राम बस्नेतले बैंकको पहुच वाहिर रहेको डाँगीहाट तथा आसपासमा रहेका सेवाग्राही तथा उद्योगी व्यवसायीहरुलाई बैंकिङ्ग सुविधा सहज रुपमा उपलब्ध हुने बताए।
बैंकका कोशी प्रदेश प्रमुखले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए। एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ।
हाल बैंकले २९६ शाखा कार्यलय र ५१ वटा एक्सटेन्सन काउन्टरमार्फत विशिष्टीकृत सुविधा दिँदै आएको छ।




