काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमलाई ‘कागजी घोडा’को संज्ञा दिएका छन् । उनले बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसहितको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमलाई यस्तो संज्ञा दिएका हुन् ।
अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पनि पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको उनको टिप्पणी छ । ‘साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा आशंका छ जसबाट यो साझा कार्यक्रम केवल ‘कागजी घोडा’मात्रै हुने ठोकुवा गर्न सकिन्छ ।’ प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
न्युनतम साझा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको प्रवक्ता श्रेष्ठले बताए । ‘अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ुक्वाँटीुदस्तावेज हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन ।’




