रवि लामिछानेविरुद्ध युवराज ‘सफल’ले दिएको उजुरी नलाग्ने

काठमाडौँ । चितवन-२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिउका रवि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ले दिएको उजुरी नलाग्ने भएको छ । लामिछानेको उम्मेदवारीविरुद्ध इमेलबाट दिएको उजुरी नलाग्ने भएको हो ।

यद्यपि उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए । युवराज सफलले गरेको उजुरीमाथि निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएको र निर्वाचन आयोगमा पठाइएको शर्माको भनाई छ । सफलले गरेको उजुरी उम्मेदवार बाहिरबाट परेकोले त्यसबारेमा सात दिनभित्र निर्णय गर्न भन्दै आयोगमा पठाइएको हो ।

तीन उम्मेदवारको उजुरी लाग्ने भएपनि पौडेलले भने उजुरी दिनै नपाउने भएकाले नलाग्ने अधिकृत शर्माले बताए । ‘उम्मेदवार रवि लामिछानेले सात दिनभित्र हाम्रो कार्यालयमा युवराज सफलले गरेको उजुरीमाथि प्रष्टीकरण दिनुपर्नेछ । त्यो प्रष्टीकरण हामी निर्वाचन आयोगमा पठाउँछौँ,’ उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १५ अनुसार उम्मेदवारविरुद्ध जसले पनि उजुरी गर्न पाउने व्यवस्थाबमोजिम सफलको उजुरी परेको हो । यो मैले निर्णय गर्न पाउने क्षेत्राधिकार बाहिरको कुरा हो यसबारे आयोगले निर्णय गर्छ ।’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ मा उम्मेदवारीविरुद्ध उजुरी दिन पाइने दुईवटा व्यवस्था छन् । एउटा दफा १५ मा र अर्को दफा २१ मा । दफा १५ मा उम्मेदवारको लागि मनोनयन दर्ता भइसकेपछि निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा जोसुकैले उम्मेदवार अयोग्य रहेको वा हुँदै छ भन्ने कुराको प्रमाणसहित उजुरी गर्न सक्ने भनिएको छ । यस्तो उजुरी निर्वाचन अधिकृतमार्फत निर्वाचन आयोगमा गर्नुपर्ने पनि उक्त दफामा उल्लेख छ ।

दफा २१ मा मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उम्मेदवार वा उसको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा उल्लेखित मिति, समय र स्थानमा निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सक्ने भनिएको छ । यी दुवै दफाका अनुसार उजुरी गर्न पाउने समय फरक रहेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री