काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
घटेको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । डिजेल मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अप्रिल १ मा नयाँ मूल्य सूची पठाएको थियो । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो । आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।




