स्वर्णिम वाग्लेलाई लक्षित गर्दै गगनले भने, ‘तनहुँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताएका छन् । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘तनहुँवासीले गत आम चुनावमा पाँच वर्ष जिम्मेवारी सुम्पिनु भएको काँग्रेसका नेता अहिले राष्ट्रपति बन्नु भएको छ । यो ठाउँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन ।’

दमौलीमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले कांग्रेस बाहेक दलका उम्मेदवारलाई टुरिस्टको संज्ञा दिए । ‘यहाँ घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ, यहाँको नेपाली कांग्रेस चोकमा राखेको मदल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन’, उनले भने । कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार भनेको स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले राष्ट्रपतिको उत्तराधिकार गोविन्द भट्टराई भएको बताए । विशेष परिस्थितिले भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जित्नुको विकल्प नभएको उनको भनाइ छ ।

‘गोविन्द भट्टराईबाट हामीले शालीनता सिक्ने हो । गोविन्द भट्टराई राजनीतिक आँखाले तनहुँमा खानेपानी र विद्यार्थीको समस्या देख्यो । उहाँ यो बाटोले चिनेको मान्छे ।’ तनहुँवासीले संसदमा अब शंकर भण्डारीसँग गोविन्द भट्टराईलाई देख्ने महामन्त्री थापाको दाबी गरे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री