काठमाडां । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सा शिक्षा अन्तर्गतको विशेषज्ञ तह पीजीमा योग्यताक्रमका आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।
मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद बैठकको ०७२ साल असोज १ गतेको निर्णय तथा सर्वोच्च अदालतको ०७२ मंसिर १५ तथा ०७३ साल जेठ २१ गतेको निर्णय अनुसार योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न तथा त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।
निर्देशन कार्यान्वयन नभएमा कानुन बमोजिम मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने प्रधानमन्त्री कार्यालयको चेतावनी छ ।
साथै गैरमेरिटका आधारमा भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन नगराउन त्रिविवि डिन कार्यालयले परीक्षा नियन्त्रण कार्यालयलाई पठाएको पत्रको जानकारी दिन पनि भनेको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले पिजी अर्थात् एमडी/एमएस/एमडिएसको भर्ना प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउन प्रवेश परीक्षा नतिजाको योग्यताक्रम अनुसार भर्ना लिन पाउने व्यवस्था गरेको छ ।
तर, भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र विरगन्जस्थित नेसनल मेडिकल कलेजले आफूखुसी विद्यार्थी भर्ना गरेका छन् । दुबै कलेजले मेरिटका आधारमा पठाएका विद्यार्थीहरुको सूचीलाई वेवास्ता गर्दै कमजोर रहेका विद्यार्थीसँग बढी शुल्क लिँदै भर्ना लिएको बुझिएको छ ।
अनलाइन खबरबाट
प्रतिकृया दिनुहॊस