खुल्ला मञ्चको सट्टा शान्तिवाटिकामा बस्न मिटर ब्याजपीडितलाई मेयर बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटर ब्याजपीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्न प्रस्ताव गरेको छ । विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटर ब्याजपीडितले सोमबार साँझ खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर प्रहरीले गेटमै रोकेको थियो ।

महानगरपालिकाका मेयर बालेन शाहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताए । ‘काठमाडौ बसुञ्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान आग्रह ग-यौं’, उनले फेसबुकमा लेखेका छन्, ‘तर उहाँहरु खुल्लामञ्चमै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं ।’

रत्नपार्कको अगाडि रानीपोखरी बाहिरको क्षेत्रमा बस्न महानगरपालिकाले मिटर ब्याजपीडितलाई आग्रह गरेको हो । तर मिटरब्याज पीडितहरुले खुलामञ्चमा नै बस्ने भन्दै खुलामञ्चको गेट बाहिर प्रदर्शन गरिरहेका छन् ।

मेयर बालेनले मिटरब्याज पीडितप्रति ऐक्यवद्धता रहेको भन्दै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । ‘हामी चाहन्छौं यस्तो अवस्थामा काठमाडौं कोही आउन नपरोस्, गाउँगाउँमा सरकार पुगोस्’ बालेनले लेखेका छन् । उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै यस्तो स्थिति सिर्जना हुँदा पनि सरकार रमिते बनेको आरोप लगाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री