काठमाडौँ । सत्ता साझेदार तीन दलका शीर्ष नेताहरूले भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता सहमति गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बिहान भएको भेटवार्ता यस्तो सहमति भएको हो ।
भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन आबद्ध मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीचमा भएको अनौपचारिक छलफल अनुसार मन्त्रालय भागबन्डाको खाका तयार बनिसकेको छ ।
जसअनुसार कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने सम्भावना छ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय यथावत् राख्ने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीन मन्त्रालय लिएर सरकारमा जाने अवस्था बनेको छ । रास्वपा गृह मन्त्रालयको अडान छाडेर सरकारमा जान सहमत बनेको हो ।
जनता समाजवादीले तीन मन्त्रालय दाबी गर्दै आए पनि दुई मन्त्रालय दिने गरी खाका बनेको छ भने नेकपा एकीकृत समाजवादीले पनि तीन मन्त्रालय दाबी गरे पनि दुई मन्त्रालय दिने गरी खाका तयार गरिएको स्रोत बताउँछ । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई पनि एक/एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गरी तयारी भएको छ ।
प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जानेछ भने बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टी पनि सरकारमा जानेगरी खाका बनाइएको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सरकारमा भित्रने इच्छा राख्दै आइरहेका छन् । तर, सत्ता गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुनेछैन ।




