काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् । सोमबार काठमाडौँमा पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
संस्थापक नेताहरूको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको उनको टिप्पणी छ । ‘२०४६ सालसम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड दलहरूले दिएको हामीले पाएका छौँ । तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रूपान्तरण भएको छ,’ उनले भने, ‘हाम्रा आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा कतिको हामीले ध्यान दिन सकेका छौँ, त्यसमा हामी सबैले मनन गर्दा राम्रो हुन्छ ।’
कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नवीन्द्रराज जोशीसँग मिलेर काठमाडौँमा संगठन विस्तार लगायतका काम गरेको स्मरण गरे । सपना राजभण्डारीले नवीन्द्रराज जोशीको सालिक बनाएर राम्रो काम गरेको भन्दै उनले सालिकको उचित स्याहार सम्भार गर्न टोलवासीलाई सुझावसमेत दिए ।




