एसिया प्यासिफिक एड्भान्स नेटवर्कको ५५ औँ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडाैँ । एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरूको सहकार्यमा स्थापित एसिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औँ अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।

नेपालमा पहिलो पटक आयोजना भएको सम्मेलनमा विभिन्न १७ देशका ३०० जना बढीको उपस्थिति रहेको थियाे। मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यक्रमको उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले राज्यको मात्र हैन, प्रविधिमा काम गर्ने संघसंस्था, विश्वविद्यालय तथा विज्ञहरूले समेत प्रविधिलाई गुणस्तर बनाउने र सर्वसाधारणको पहुँचमा पुर्‍याउने कुरालाई प्राथमिकतामा राख्ने तथा लगानी बढाउने बताइन्।

प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको बताउँदै मन्त्री शर्माले डिजिटल डिभाइडको खाडललाई कम गर्ने काम गर्नुपर्नेमा जाेड दिइन्। अनुसन्धान र आविष्कार विकासको मेरुदण्ड रहेको उनकाे भनाइ छ।

यसैगरी, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. प्रमिलादेवी बज्राचार्यले नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको लागि पहल गरिरहेको बताउँदै यस्ता कार्यक्रममार्फत् सरकारले अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताइन्।

कार्यक्रममा एपानका अध्यक्ष जिलोङ वाङले नेपालले पहिलो पटक गरेको कार्यक्रमको प्रशंसा गर्दै नेपाल सरकारसँगको सहकार्यले वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय समुदाय बीचको सहकार्यलाइ थप सबल बनाउने बताए।

विगत २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरूसँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरूमा आयोजना गर्दै आएको मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताए।

सम्मेलन फागुन २९ गतेदेखि संचालन भैरहेको छ। पाँच दिनसम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ वटाभन्दा बढी सेसनहरू सञ्चालन हुनुका साथै १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न क्षेत्रहरूमा केन्द्रित रही प्रस्तुति दिनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस