काठमाडौँ । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले जसपाका तर्फबाट सत्ता गठबन्धनका साझा उपराष्ट्रपतिका उम्मेदवार रहेका यादवलाई मतदान गर्ने निर्णय गरेकाे हाे । ३ चैतमा उपराष्ट्रपतिकाे निर्वाचन हुँदै छ ।
बैठकले आफ्ना संघीय र प्रदेश सांसदलाई यादवलाई मतदान गर्न निर्देशनसमेत दिएको छ । बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिँदै पदीय गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरूप निर्वाह गरी सफला प्राप्त हुने विश्वाससहित शुभकामनासमेत दिएकाे छ ।
चितवन २ सहितका ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न बैठकले पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशसमेत दिने निर्णय गरेकाे छ ।
कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा रामबहादुर ठकुरी र चितवन क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ ।




